पर्वतको जलजला गाउँपालिका–८, लस्ती–फर्सेमा गएको बाढीपहिरोबाट प्रभावित ३८ घरपरिवारलाई जापानमा रहेका नेपालीहरूबाट संकलित राहत रकम वितरण गरिएको छ। दसैँको मुखमा विपत्तिमा परेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिपरिवार ३ हजार ५०० रुपैयाँका दरले नगद राहत वितरण गरिएको हो।
जापानमा संकलन गरिएको जापानी येन १ लाख ४१ हजार ५६३ बराबर नेपाली रुपैयाँ १ लाख ३५ हजार १९३ रकम राहत अभियानका लागि संकलन भएको जानकारी दिइएको छ। स्थानीय बालाजी युवा क्लबको समन्वयमा उक्त राहत रकम ३८ घरपरिवारलाई वितरण गरिएको हो।
परदेशमा रहे पनि आफ्नो जन्मभूमि तथा छिमेकी जिल्लामा आइपरेको दुःख र विपत्तिमा सकेको सहयोग गर्ने उद्देश्यले जापानमा रहेका नेपालीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी सहयोग अभियान सञ्चालन गरिएको अभियानमा संलग्नहरूले बताएका छन्।
दसैँजस्तो महान् चाडको मुखमा बाढीपहिरोबाट प्रभावित परिवारलाई आवश्यक सामग्री खरिद गर्न तथा चाडपर्व मनाउन केही सहज होस् भन्ने उद्देश्यले नगद राहत वितरण गरिएको हो। विपत्तिमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउने र उनीहरूलाई चाडपर्वको समयमा केही राहत महसुस गराउने अभियानको उद्देश्य रहेको जनाइएको छ।
राहत वितरण कार्यक्रममा बागलुङ नगरपालिका–४ का वडा सदस्य अर्जुन सापकोटा, बागलुङ नगरपालिका–५ का गोविन्द सापकोटा, समाजसेवी धुर्वलाल पौडेल तथा बालाजी युवा क्लबका रोशन केसीको उपस्थिति रहेको थियो। स्थानीय वडा अध्यक्ष हरिविकास जी.सी.सँग समन्वय गरी राहत वितरण कार्य सम्पन्न गरिएको हो।
यस अभियानमा युवराज रेग्मी, झपेन्द्र सापकोटा, मदन केसी, हेमप्रसाद सापकोटा, विष्णु कँडेल, ऋषि कँडेल, कमल सापकोटा, पौडेल मुक्ति, बिमल सुवेदी, नारायण प्रकाश कँडेल, मित्र कँडेल, हरि कँडेल, मुकुन्द प्रसाद कँडेल, सुनिल लामा, देवराज उप्रेती, कृष्णप्रसाद कँडेल, केशव लामिछाने, मिलन बस्नेत, मदन शर्मा, रमेश शर्मा, भवनाथ गैरे (Dippalace), भास्कर अधिकारी, अमरबहादुर केसी, प्रेम सापकोटा (सोनु), भानु कँडेल, अनिल शर्मा (तारा), रामचन्द्र रिजाल, विकास सापकोटा (ठाकुर) र शिवप्रसाद आचार्य (ओकायामा) लगायतले सहयोग गरेका थिए।
अभियानमा सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण दाताहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्। साथै, राहत वितरणमा समन्वय र सहजीकरण गर्ने बालाजी युवा क्लबका रोशन केसी, जनप्रतिनिधि, समाजसेवी तथा अन्य सहयोगीहरूलाई विशेष धन्यवाद दिइएको छ।
यस अभियानसम्बन्धी जानकारी मनोज पौडेल (मुक्ति) ले गराएका हुन्। अभियानमा संलग्नहरूले राहत संकलनदेखि वितरणसम्मको जिम्मेवारी आफैँले लिएर पारदर्शी र जिम्मेवार ढङ्गले सहयोग हस्तान्तरण गर्ने प्रयास गरिएको बताएका छन्।
परदेशमा रहेर पनि आफ्नो माटो, समाज र समुदायप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस सहयोग अभियानले मानवता र आपसी सहयोगको महत्त्वलाई उजागर गरेको छ।



(2).gif)
