भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले सहयोग गरेको छ।
बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि शाखाले आफ्नो कोष तथा कार्यसमितिबाट रकम संकलन गरी १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो। शाखाका अध्यक्ष समुद्रराज पौडेल र सचिव दिपक कँडेल ‘सफल’द्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार उक्त रकम प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिसँगको समन्वयमा राहत वितरणका लागि केन्द्रको खातामा जम्मा गरिएको छ।
केन्द्रीय कार्यसमितिमार्फत सञ्चालन हुने राहत अभियानमा उक्त रकम प्रयोग गरिने शाखाले जनाएको छ। यसबाट विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतको लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको मूल संस्थासँग ऐक्यबद्धता जनाउँदै जापान शाखाले मानवीय सेवाको अभियानमा सहकार्य गरेको जनाएको छ। विपत्तिमा परेका नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै शाखाले कठिन समयमा मानवीय एकता र सहयोगको भावना महत्वपूर्ण हुने जनाएको छ।
राहत अभियानमा सहयोग गर्ने सहयोगदाता, शुभेच्छुक तथा विभिन्न समुदायप्रति शाखाले आभार व्यक्त गरेको छ। लोक तथा दोहोरीगीत संगीतको संरक्षण र प्रवद्र्धनसँगै सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि शाखाले जनाएको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाखाले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सुस्वास्थ्यको कामना गरेको छ।

(2).gif)
