नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले प्रतिस्पर्धी डा. शेखर कोइरालालाई हराउँदै सभापतिमा दोस्रो पटक निर्वाचित भएका हुन् ।
काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् ।
यसअघि उनी १३ औं महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएका थिए ।
कांग्रेस विधानअनुसार हरेक पाँच वर्षमा महाधिवेशन गर्नु पर्ने भए पनि यसपटक कोरोनाभाइरस महामारीका कारण केही महिना ढिला महाधिवेशन गरिएको हो ।
महाधिवेशनमा पहिलो चरणमा देउवा र सभापतिका अन्य प्रत्याशी डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत कटाउन सकेका थिएनन् ।
त्यसैले, मंगलबार दिउँसो भएको मतदानमा पहिलो चरणमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइराला सभापति पदका लागि उम्मेदवार भएका थिए । ४ हजार ६ सय २३ मत खसेको मध्य सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २ हजार ७ सय ३३ मत ल्याउँदा प्रतिस्पर्धी शेखर कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरे भने ३५ मत बदर भएको छ ।
देउवा कांग्रेसमा सभापति हुने सातौँ व्यक्ति हुन् । उनीभन्दा अगाडि कांग्रेसको १२ ओं महाधिवेशनबाट सुशिल कोइराला सभापतिमा निर्वाचित भएका थिए ।
१३ औं र १४ औं महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भएसँगै अब नेपाली कांग्रेसमा लामो विरासत बोकेको कोइराला परिवार मूल नेतृत्वबाट १० वर्ष अलग हुने निश्चित भएको छ ।
कांग्रेसमा सबैभन्दा लामो विश्वेश्वर प्रसाद कोइराला २९ वर्ष सभापति भएका थिए। त्यस्तै, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समान १४ वर्ष सभापति भएका थिए ।
डडेलधुरामा जन्मिएका देउवा गत पुसमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुनस्र्थापनासँगै परमादेश दिए पछि अहिले प्रधानमन्त्री समेत हुन् ।
(2).gif)
