नेकपा एमालेको प्रथम विधान महाधिवेशनले ७० वर्षे उमेर हद राखेको छ । ७० वर्ष पूरा भएकाले अब पार्टीको उम्मेदवारी दिन नपाइने व्यवस्था गरेको छ । तर,यदि कोही व्यक्तिले ७० वर्ष पूरा हुनुअघि उम्मेदवार भएर जितेको खण्डमा भने उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरेको छ ।
यो व्यवस्था मुख्य त एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित गरिएको छ ।असोज १५ गतेदेखि चलेको विधान महाधिवेशनको आइतबार (आज) ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएको खण्डमा पूर्ण कार्यकाल काम गर्न पाउने बताए ।
विधान संशोधन प्रस्ताव कार्यदलका संयोजकसमेत रहेका पौडेलले गरेको व्याख्या पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित देखिएको एक नेताले जनाएका छन् । उनले भने, ‘उपमहासचिव विष्णु कमरेडले गरेको व्याख्या,दसौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित गराउने देखिएको छ । किनभने केपी ओली अध्यक्षमा दोहोरिने तयारीमा छन् ।
मङ्सिरमा महाधिवेशन भए उनी अध्यक्षमा दोहोरिएको केही महिनापछि ७० वर्ष पुग्ने छन् । तर ओलीले यस्तो सुविधा पाएर दोहोरिएमा हाल उपाध्यक्ष, महासचिव र स्थायी कमिटीमा रहेका नेताहरू भने अध्यक्ष हुनबाट बञ्चित निश्चित देखिन्छ,' उनले भने । विधान महाधिवेशनमा ओलीप्रति गरिएको देवत्वकरणको विरोध सुरु भइसकेको छ ।
(2).gif)
