नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्ने पक्षमा रहेको बताएका छन् । आफ्नै निवास खुमलटार पुगेकी एमसिसी उपाध्यक्ष फातिमा सुमारसँग भेट गर्दै अध्यक्ष प्रचण्डले आफूहरू राष्ट्रिय एकता कायम गरी एमसिसी पास गर्ने पक्षमा रहेको बताएका हुन् ।
चार दिने नेपाल भ्रमणमा रहेकी सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् । हिजो प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराईलगायतसँग सोही दिन भेटवार्ता गरेकी थिइन् ।
उनी सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेकी हुन् । सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
(2).gif)
