बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन

गण्डकी पोष्ट भाद्र २२, २०७८ मंगलबार
  • 680
    SHARES
  • आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन

    भाद्र कुशे औंसी तथा पुजनीय बुबाको मुख हेर्ने दिन आज (मङ्गलबार) परेको छ । 

    images

    जगतकै देवता मानिने बुबाप्रति यसदिन विशेष सम्मान प्रकट गर्ने गरिन्छ । विशेष गरेर आज बुबालाई प्रेमपूर्वक मिठामिठा परिकार भोजन गराउने गरिन्छ । त्यस्तै उपहार दिँदै आफ्ना बुबाबाट आशीर्वाद लिने चलन पनि छ । 

    बुबाप्रतिको आदर, सत्कार र सामीप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म र सम्प्रदायकाले गरेका हुन्छन् । आजका दिनले झन् यसको महत्व दर्शाउने गर्छ । जसले भावी पुस्तामा पनि पितृमोहको भावना अझ प्रगाढ पार्न मद्दत गरिरहेको हुन्छ । 

    सशरीर उपस्थिति भएर बुबासँग प्रत्यक्ष भेटघाट गर्न नसक्ने एवम् नपाउनेहरुले भने प्राविधिको प्रयोग गरेर मुख हेर्ने र बुबालाई सम्झिने गर्छन् । प्रविधिको विकाससँगै टाढाटाढा रहेका सन्तानले टेलिफोन र भिडियो कलमार्फत बुबाको मुख हेर्ने गर्छन् । 

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाउनुपर्छभन्ने मान्यता छ । मिठामिठा खानेकुरा खुवाएर बुबाबाट आशीर्वाद लिँदा जीवनभर सुख पाइन्छ भन्ने जनविश्वास छ । 

    बुबा नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्धपूर्वक रूपमा सिदा दान गर्ने गर्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर लगायतका विभिन्न धार्मिक तीर्थस्थलमा पुगेर दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गरिन्छ । 

    गतवर्ष जस्तै यसवर्ष पनि कोरोना महामारीका कारण धार्मिक तीर्थस्थलमा भिडभाडका साथ पूजाआराधना गरेर दिवङ्गत बुबालाई भने सम्झन नपाउने अवस्था बनेको छ । कोरोना सङ्क्रमण फैलने त्रासका कारण तीर्थस्थलहरुमा भिडभाड नगर्न र सावधानीका साथ आफ्ना गतिविधि सञ्चालन गर्न सरकारले सबैमा आह्वान गरेको छ । 

    भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने चलन पनि छ । शास्त्रीय विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    आजका दिन उखेलिएको कुश वर्ष दिनभरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रीय मान्यता छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गर्छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार